टेरामक्स कार्यान्वयन नगर्न सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज (बिहीबार) को बैठकमा उहाँले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको बताउनुभयो ।

टेलिकम अपरेटरले अनिच्छा देखाएको, मन्त्रालयले पनि कानुन र कार्यविधि बनाएर मात्र अघि बढ्ने निर्यण गरेकाले यो लागु नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र निष्कर्ष निकालेको बताएकी छन् । अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको उहाँले उल्लेख गर्नुभयो । यसको सफ्टवेयर र हार्डवेयर पनि हेरफेर भइरहेको उहाँको भनाइ छ ।

एनसेलको ८० प्रतिशत सेयर खदिर–बिक्रीबारे छानबिनका निम्ति समिति बनाइएको र त्यसले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।