जारी पिएम कप क्रिकेट प्रतियोगितामा आर्मीको सहज जित, कोशी प्रदेश ९ विकेटले पराजित
काठमाण्डौ । जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ९ विकेटको जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आज (बिहीबार) कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो
।
आर्मीका ओपनरद्वय सन्तोश कार्की र इम्रान शेखले समान ३२ रन बनाए । कुशल मल्लले अविजित २२ रन बनाए । बलिङमा कोशी प्रदेशका सुजन थपलियाले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको कोशी २४ ओभर ४ बलमा ८८ रनमा समेटिएको थियो । कोशीका कप्तान अंकित सुबेदीले सर्वाधिक ४१ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा आर्मीका शाहब आलमले ६ विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका आलमले ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले २, सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।