शेयर बजार आज दोहोरो अङ्कले घट्यो

काठमाण्डौ ।  शेयर बजार बुधबार दोहोरो अङ्कले घटेको छ ।

मंगलबार ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से बुधबार १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बुधबार इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि विसं २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।