प्रधानमन्त्रीलाई मेयर बालेनको कटाक्ष : एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार ?
काठमाण्डौ । काठमाण्डौमा आज (सोमबार)देखि पुन : मेलम्चीको पानी वितरण गरिएको छ । सिंहदरबार भित्रैको कार्यालयको धारा खोलेर प्रधानमन्त्री पुष्पकमल दाहालले पानी पुनर्वितरणको उद्घाटन गर्नुभएको हो ।
एउटै परियोजनाको उद्घाटन धेरै पटक भएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री दाहाललाई व्यङ्गय गर्नुभएको हो । उहाँले फेसबुक स्टाटसमा एउटै मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार भन्दै प्रश्न गर्नुभएको छ ।
साथले प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाण्डौमा ल्याएको टिप्पणी समेत गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ ।’
मेयर बालेनले प्राविधिक कमीकमजोरीतर्फ सचेत नबनी मेलम्चीको पानी पुनः काठमाण्डौमा ल्याएर प्रधानमन्त्रीले उद्घाटन गर्नुलाई राजनीतिक ‘स्टन्ट’को संज्ञा दिनुभएको छ ।