सरकारले घोषणा गरेजति रकम निकासा नगर्दा जाजरकोट भूकम्प पीडित समस्यामा
काठमाण्डौ । सरकारले घोषणा गरेजति रकम निकासा नगर्दा जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण अलपत्र परेको छ ।
आज (आइतबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गरेर सरकारले निर्णय गरेजति रकमको निकासा नहुँदा पीडितले अस्थायी आवाससमेत बनाउन नपाएको बताएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भूकम्प गएलगत्तै मन्त्रिपरिष्द् बैठकले १० अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरे पनि अहिलेसम्म अर्थ मन्त्रालयले जम्मा एक अर्ब रुपैयाँमात्रै निकासा गरेको बताउनुभयो । यस्तै विपद् व्यवस्थापन कोषमा रहेको एक अर्ब २६ करोड करोड रुपैयाँसमेत गरेर प्राधिकरणले दुई अर्ब २६ करोड रुपैयाँ जिल्लामा पठाएको छ । दुई अर्ब २६ करोड रुपैयाँमध्ये ४७ हजार छ सय ५५ जना लाभग्राहीको खातामा एक अर्ब तीन करोड ८१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले केही ऐन र नियमावलीका कारण पनि पीडितलाई रकम वितरणमा ढिलाइ भएको जानकारी दिनुभयो । प्राधिकरणले ऐनहरूलाई परिमार्जन गरेर अस्थायी आवास र पुनर्निर्माण तीव्र गतिमा अघि बढाउने तयारी गरिरहेको उहाँको दाबी छ । प्राधिकरणका अनुसार जाजरकोट भूकम्प पीडितका लागि २० हजार एक सय ४७ वटा अस्थायी आवास निर्माणको काम सम्पन्न भइसकेको छ ।
त्यसैगरी १० हजार तीन सय पाँच वटा निर्माण भइरहेको पनि प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभयो । लाभग्राहीको सङ्ख्या ६८ हजार सात सय ८० जना रहेको छ ।