वर्तमान सरकार तीनवटा संकट र चुनौतीबाट गुज्रिरहेको छ : शंकर पोखरेल

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ ।

आज (आइतबार) दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिलो राजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमा रहेको बताउनुभयो ।

महासचिव पोखरेलले राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा बढ्नु अर्को चुनौति रहेको समेत बताउनुभयो । विश्व राजनीतिको भूराजनीतिक द्वन्द्वको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उहाँको भनाइ थियो ।

यस्तै महासचिव पोखरेलले अहिलेको परिवर्तनप्रति नै अनास्था तथा अविश्वास सृजना गर्ने हिसाबले अनेक प्रकारका अराजकतावादी विभाजनकारी प्रवृत्तिहरू बढिरहेको समेत उल्लेख गर्नुभयो ।