कोशी प्रदेशको नाम संकल्प यात्राको क्रममा जनताबाट पनि अनुमोदित: शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताउनुभएको छ ।
नेकपा एमाले दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले सो प्रदेशको नाम अनुमोदन गरेको दाबी गर्नुभयो ।
यात्राको क्रममाका कोशी प्रदेशको नामाकारको विषयलाई लिएर एमालेलाई छिर्नै नदिने भनि सत्तारुढ दलले समेत गरेको प्रचारलाई जनसागर उर्लिएर चिरिदिएको पोखरेलले बताउनुभयो ।
कोशी प्रदेशका सबै ठाउँमा भएका सभा र यात्राको क्रममा नागरिक सहभागिता ऐतिहासिक भएको उहाँले बताउनुभयो । डर, त्रास र धम्कीका बाबजुद यात्राको क्रममा सबैभन्दा ठुला सभा कोशी प्रदेशमा नै भएको उहाँले बताउनुभयो ।
यात्रा विकास र समृद्धिको पक्षमा काम गर्न महत्त्व राख्ने यात्रा भएको उहाँले बताउनुभयो । मध्यपहाडलाई भविष्यको विकासको आधारशिला बनाउनको लागि समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरिएको उहाँले प्रष्ट पार्नुभयो ।