विभिन्न देशसँगकाे सन्धि सम्झाैताकाे पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
काठमाण्डाै । संसदीय समितिले सरकारले विभिन्न देश र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भई विभिन्न देश वा सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरू भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सन्धि र सम्झाैताहरूकाे प्रतिलिपि उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्ण रूप समिति सचिवालयमा सात दिनभित्र उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयाे ।
समितिले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको सम्झौताको विषयहरू समितिसमक्ष जानकारी गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आभार प्रकट गर्ने निर्णय गरेको छ ।