काठमाण्डौ महानगरले कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही गर्न थालियो

काठमाण्डौ । घरपालुवा कुकुरलाई सार्वजनिक ठाँउमा शौच गराउनेलाई काठमाण्डौ महानगरपालिकाले कारबाही शुरु गरेको छ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले  सोमवारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि पनि बेलाबेला काठमाण्डौ महानगरपालिकाले सचेत गराउँदै आए पनि  सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउन नछाडेपछि अहिले कुकुर समाउन थालिएको बताउनुभयो । चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो ।

यसपटक भने काठमाण्डौ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ । सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ ।

कुकुरको मलमूत्रका कारण परजीवी जुका पर्ने तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताउनुभयो ।

डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि असर हुने बताउनुभयो ।