प्रर्दशन चर्किएपछि बरहथवामा भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी
काठमाण्डौ । सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले आज (आइतबार) मध्यान्हबाट कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शनकारीले प्रदर्शन चर्काएपछि आइतबार मध्यान्ह १२ः४५ बजेदेखि भोलि (सोमबार) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुनैपनि किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को उपदफा (२) (३) (४) बमोजिम कर्फ्यु आदेश जारी गर्नुभएको हो ।
आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ । सूचनामा बरहथवास्थित पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटो, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।