राष्ट्रियसभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, एकीकृत समाजवादी असन्तुुष्ट

काठमाण्डाै । राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् ।

यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् ।

चार दलले मात्रै भागबण्डा गरेको भन्दै नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुुष्ट छन् । कोशीमा कांग्रेस र माओवादीले १/१, मधेसमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भए पनि बाग्मती, गण्डकी र कर्णालीमा टुङ्गो लाग्न बाँकी छ ।

आज बैठक बसेर टुङ्गो लगाउने कांग्रेस र माओवादीका नेताहरुले बताएका छन् ।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुङ्ग्याउने सर्तमा एमालेलाई पनि राष्ट्रियसभामा सामेल गराउने प्रयास सफल हुन नसकेपछि गठबन्धन दलभित्रै भागबण्डा गर्ने तयारी भएको हो ।

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।