अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा १ हजार वटा गाडी फसे
अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा एक हजार वटा गाडी फसेका छन् । २४ घण्टाभन्दा लामो समयदेखि एक हजार वटा कार र लरी फसेका हुन् । गाडीमा रहेका यात्रुलाई सेनाले खाना र पानी पु¥याएको बीबीसीले जनाएको छ ।
स्विडेनको ई–२२ राजमार्गमा फसेकाहरूको उद्धार कार्य चलिरहेको सरकारी अधिकारीले बताएका छन् । यात्रुको उद्धार गरे पनि गाडीहरू सडकबाट निकाल्न नसक्दा सडक बन्द छ । एक यात्रु एरिका सेपेलियोवेइटले साना बच्चासहित आफूहरू फसेको १९ घण्टामा बल्ल उद्धार भएको बताउनुभएको खबरमा उल्लेख छ ।
सेनाले हिउँ पन्छाएको आधा घण्टामा सडकहरू फेरि ढाकिएर गाडी फस्ने अवस्था रहेको बताएको छ । नर्डिक देशहरूमा अहिले न्यूनतम तापक्रमले रेकर्ड बनाइरहेको छ । स्विडेनको मौसम विभागले हिजो माइनस ४३ डिग्री तापक्रम मापन गरेको छ, यो २५ वर्षयताकै कम तापक्रम हो । अत्यधिक चिसो मौसमले स्विडेन, फिनल्यान्ड र नर्वेको जनजीवन निकै प्रभावित भएको छ ।