आफूहरुमाथि विभेद भएको भन्दै नेपाल एयरलायन्सका सम्पूर्ण क्याबिन क्रू सर्वोच्चमा
काठमाण्डौ । नेपाल वायुसेवा निगममा कार्यरत सबै विमान परिचारक र परिचारिका (क्याबिन क्रु)हरु आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको दाबी गर्दै न्यायको याचनासहित सर्वोच्च अदालत पुगेका छन् ।
उनीहरुले आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा–सुविधामा कानूनविपरीत विभेदको नीति ल्याएकाले त्यस्ता प्रावधान खारेजीको माग गर्दै रिट निवेदन पेस गरेका छन् । वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीसहित १३५ जनाले सामूहिक रुपमा सर्वोच्च अदालतमा बुधबार रिट निवेदन पेस गरेका छन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानूनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिलेसुकै हटाउनसक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधानको बदर माग गरिएको छ ।
आफूहरुले पटक पटक व्यवस्थापनसमक्ष कुरा राख्दासमेत सुधारको प्रक्रिया अघि नसारेकाले सर्वोच्च अदालतमा रिट निवेदन दिनुपरेको उनीहरुको निवेदनमा उल्लेख छ ।