उद्योगी र विद्युत् प्राधिकरणबीचको विवादले नकारात्मक सन्देश जाने खतरा बढ्यो अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा उद्योगी र विद्युत् प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज (बुधबार) न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष ढकालले डेडिकेटेड र ट्रङ्क लाइनको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको बताउन भयो । प्राधिकरणले काटेको उद्योगहरूको लाइन तत्काल जोडेर समस्याको समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले चार महिनाअघि प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाइन नकाट्न निर्देशन दिएको स्मरण गर्नुभयो । उहाँले सरकारले उद्योगी व्यवसायी र प्राधिकरणबीच विवाद बढ्न नदिई हस्तक्षप गर्न आवश्यक रहेको बताउनुभयो ।