सामाजिक सुरक्षा प्रणाली एमालेले विकास गरेको महासचिव शङ्कर पोखरेलको भनाइ

काठमाण्डौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणाली विकास गरेको बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६ औँ स्थापना दिवसको अवसरमा आज (बुधबार) आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नागरिकले सहज जीवनको लागि आम स्वतन्त्रताले मात्र सक्दैन भने राज्यले संरक्षण गर्नुपर्छ भनेर एमालेले सो प्रणाली विकास गरेको बताउनुभयो । सामाजिक सुरक्षाको अवधारणा मूलतः विकसित मुलुकको अवधारणा भएको उहाँले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्रमाणीकरण गरी सामाजिक सुरक्षा भत्ता कार्यक्रममा जोड्ने कार्य त्यसैको परिणाम भएको उहाँले बताउनुभयो । यद्यपि त्यसको दायरा फराकिलो बनाउन आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभयो ।

सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउनको लागि राज्य बलियो हुनु पर्ने उहाँले बताउनुभयो । कमजोर राज्यले सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउन र श्रोत वृद्धि गर्न नसक्ने पोखरेलको भनाइ छ । अहिले गठबन्धन सरकारले सामाजिक सुरक्षाको दायरालाई साँघुरो बनाउने र श्रोत घटाउने काम गरिरहेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकारले दिइरहेको सुविधालाई पनि बोझ ठानेको उहाँले बताउनुभयो ।

त्यसतै, नेकपा एमाले अहिले जनताको रोजाइको पहिलो पार्टी भए पनि मुलुकको आवश्यकताको हिसाबले एमालेको सार्मथ्य अझै कमजोर रहेको उहाँले बताउनुभयो । देशलाई, स्थिरता र बहुमतको सरकार दिन नै नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले थप प्रस्ट पार्नुभयो । नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।