आफूलाई अब्बल साबित गर्दै काम गर्न टेलिकमका व्यवस्थापकलाई मन्त्री शर्माको निर्देशन

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रिय समितिको १७औँ वार्षिकोत्सवलाई आज (बुधबार) भद्रकालीमा सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले पछिल्लो समयमा यस संस्थामा सुधार गर्न मेहनत गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।

संस्था गिर्दै गएमा सुविधा कटौती हुनसक्ने उल्लेख गर्दै मन्त्री शर्माले यस्ता विषयमा सबै सङ्गठनको व्यावसायिक योजनासहित हातेमालो हुन सक्नुपर्ने बताउनुभयो । गणतन्त्र प्राप्ति भइसकेपछि आफ्ना हक अधिकारको वकालतका साथै राजनीतिक दल र कर्मचारी सङ्गठनले देशको आर्थिक समृद्धिमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले दूरसञ्चार ऐन, २०५३ संशोधनको गृहकार्य भइरहेको र टेलिकमको नियमावलीलाई सामयिक संशोधन गरिने जानकारी दिनुभयो ।