नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक बिहीबार र शुक्रबार हुने

काठमाण्डौ । नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि (बिहीबार) र पर्सि (शुक्रबार) काठमाण्डौमा हुने भएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउद र सहअध्यक्षता भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र विभिन्न सहयोग तथा सम्झौताबारे समीक्षा गर्नेछ । मन्त्रालयले आज (बुधबार) एक विज्ञप्ति निकालेर भोलि र पर्सि हुने बैठकमा ऊर्जा, जलस्रोत, परराष्ट्र सम्बन्धलगायतका आपसी सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल हुने जनाएको छ ।

बैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । उहाँले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीले उहाँको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नुहुनेछ ।