सन् २०२३ मा ५८ पत्रकार मारिए , ५२१ जना कारगारमा बन्दी
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।
रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो ।
विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखिन्छ ।
यसका कारणहरूमा समाचार संस्थामा सुरक्षा उपायहरू अपनाउनु, सुरक्षात्मक उपकरणहरूको तालिम दिनु, पत्रकारले सावधानी अपनाउनु, दण्डहीनताविरुद्धको लडाइँको प्रभाव, अन्तर–सरकारी संस्थाहरूद्वारा गरिने कार्यहरू र गैरसरकारी संस्थाहरूको कामले पनि प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा कर्तव्यको सिलसिलामा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा समग्र गिरावट आएको छ । विगत पाँच वर्षमा आफ्नो कामको सिलसिलामा मारिएका पत्रकारको सङ्ख्यामा क्रमिक गिरावट आएको हो । ल्याटिन अमेरिकामा आफ्नो कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ ।
पत्रकारहरूका लागि शान्तिमा रहेका देशभन्दा युद्ध क्षेत्रहरू बढी घातक देखिएका छन् । यो वर्ष युद्ध क्षेत्रमा रिपोर्टिङ गर्ने क्रममा २३ पत्रकार मारिएका छन् । पाँच वर्षमा पहिलो पटक शान्ति क्षेत्रभन्दा युद्ध क्षेत्रमा बढी पत्रकार मारिएका छन् ।
विश्वभरमा सबैभन्दा बढी पत्रकार चीन, बेलारुस र म्यानमारका बन्दीगृहमा राखिएका छन् । चीन फेरि पनि विश्वको सबैभन्दा धेरै पत्रकार बन्दी बनाउने देश बनेको छ । जहाँ १२१ मिडिया पेशेवरहरू बन्दी जीवन बिताइरहेका छन् । यो विश्वभर हिरासतमा परेका पत्रकारहरूको करिब एक चौथाइ हो ।