बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो : गृहमन्त्री श्रेष्ठ
काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताउनुभएको छ ।
आज सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले स्थिति असामान्य बनेको बताउनुभएको हो ।
मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट थाहा भएको उहाँको भनाइ छ । साथै गोली चलेपछि मात्रै गाडी जलेको देखिएको पनि गृहमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गर्नुभयो ।
दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको विषयमा संसदीय समितिले समितिले गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग सोधपुछ गरेको हो । समितिको बैठकमा केही सांसदहरुले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्रीलाई सुझाव दिएका छन् ।