गुरुङ जातिको नयाँ वर्ष ‘तमु ल्होसार’ को १० महत्वपूर्ण पक्षहरू

काठमाण्डौ । तमु ल्होसार नेपालमा हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले मनाउने एक प्रमुख चाड हो । यो पर्वले गुरुङ नयाँ वर्षको सुरुवात भएको जनाउँछ ।

तमु ल्होसारको महत्वलाई उजागर गर्ने दश पक्षहरू यसप्रकार छन् :

१) तमु ल्होसार भन्नाले गुरुङ पात्रोमा तमु संवत् वा नयाँ वर्षको प्रारम्भ हो । गुरुङ भाषामा तमुको अर्थ ‘गुरुङ’ र ल्होसारको अर्थ ‘नयाँ वर्ष’ हो । त्यसैले तमु ल्होसारलाई “गुरुङहरुको नयाँ वर्ष” पनि भनिन्छ ।

२) तमु पात्रोअनुसार विभिन्न जीवहरू जस्तै गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग, मुसा, गाई, बाघ र बिरालोलाई प्रतिनिधित्व गर्ने १२ वर्गको चक्रले हरेक वर्षलाई प्रतिनिधित्व गर्दछ।

३) यो पर्वले परिवारका सदस्यहरूसँग भेला हुन र शुभकामना आदानप्रदान गर्न एकताको अवसर दिन्छ। गुरुङ समुदायले परम्परागत पहिरन र सांस्कृतिक कार्यक्रममा र्‍याली आयोजना गर्ने गर्दछन् ।

४) यो दिन गुम्बाहरू रंगीन बत्तीहरूले सजाइएका हुन्छन् र प्रत्येक घरको छतमा रंगीन प्रार्थना झण्डा ठडान्छ ।

५) नेपालबाहेक तमु ल्होसारलाई विश्वका विभिन्न देशहरू जस्तै– भारत, बेलायत, अस्ट्रेलिया, हङकङ, बुर्नाई आदि देशहरूमा पनि मनाउने गरिन्छ ।

६) ल्होसारको अघिल्लो साँझदेखि नै पूजापाठ, भोजभत्तेर, नाचगान गरी नयाँ वर्षको स्वागत गरिन्छ । यसदिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

७) गुरूङ महिलाहरुले परम्परागत मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु, मजेत्रो र गरगहना लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

८) अन्य जातजातिले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ । यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित कौडा नाँच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् ।

९) यो संस्कृतिको निरन्तता दिने पर्व मात्र नभई बितेको वर्षलाई प्रतिबिम्बित गर्दै आगामी वर्षका लागि सकारात्मक उर्जाका साथ नयाँ सुरुवात गर्ने अवसर पनि हो ।

१०) गुरुङ समुदायको नयाँ वर्ष भएपनि तमु ल्होसार नेपालका अन्य जातजातिले पनि हर्षोल्लासका साथ मनाउने गरेका छन् । त्यसैले यो पर्वले नेपालीहरुमा एकता र धार्मिक सहिष्णुता कायम गर्न मद्दत गरेको छ । -सुप्रिया राई