प्रधानमन्त्री कप : महिला क्रिकेटमा एपीएफ क्वालिफायर प्रवेश

काठमाण्डौ । विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । एपीएफ लिग चरणमा अपराजित रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।

आज (शनिबार) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले हराएको हो । यससँगै एपीएफले लगातार सातौँ जित निकालेको छ । जितका लागि एक सय २७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटकोे क्षतिमा ७९ रनमा समेटिएको थियो ।
बागमतीका लागि सोनी पाख्रिनले २० रन बनाउनुभयो । यशु पाण्डेले १७ र संस्कृति फुयाँलले १० रन जोड्नुभयो । बलिङमा एपीएफका लागि सुमन विष्ट दुई विकेट लिनुभयो । सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले सर्वाधिक ४४ रन बनाउनुभयो । इन्दु बर्माले २८, रोमा थापा १९ र ज्योति पाण्डे १३ रन जोड्नुभयो । बलिङमा बागमतीको लागि संस्कृति फुँयाल, मनिषा उपाध्याय र सबिका कुमारी यादवले एक एक विकेट लिनुभयो ।

आज नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हराएको छ । जितका लागि दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।

जितसँगै सुदूरपश्चिम प्रदेशले क्वालिफायर खेल्ने सम्भावना कायम राखेको छ । सुदूरपश्चिम सात खेलमा १० अङ्क जोड्दै तेस्रो स्थानमा छ । एक खेल कम खेलेको कोशी पनि समान १० अङ्कसहित दोस्रो स्थानमा छ ।