हात्तीको आक्रमणबाट झापामा १ पुरुषको जनाको ज्यान गयो

काठमाण्डौ । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका–११ दुधेका ४५ वर्षका मेघराज राईको ज्यान गएको छ ।

गए राती हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार झापामा डेढ महिनामा हात्तीको आक्रमणबाट राईसहित चार जनाको ज्यान गएको छ ।

पुसको ४ गते हल्दीबारी गाउँपालिका–२ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको ज्यान गएको थियो । यस्तै मङ्सिर १५ गते हल्दीबारी–३ रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन र त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ को बेलडाँगी शिविरका पदमलाल तामाङको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।

झापासहित मोरङ, सुनसरीमा हात्तीको आतङ्क बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका जङ्गली हात्ती नफर्किएका कारण मुख्य गरी तीन जिल्लामा त्रास बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।