विश्वविद्यालय सुधारको माग गर्दै, विद्यार्थीहरूको विश्वविद्यालय सडक बहस
काठमाण्डौ । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् ।
आज शुक्रवार नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरूले विश्वविद्यालय सुधारको माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् । उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
विश्वविद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरूमा पठनपाठनको अवस्था निराशाजनक रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके उनीहरू अझै धेरै विदेश जाने सम्भावना रहेको बताउनुभयो ।
विश्वविद्यालयहरूमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्त हुन नसकेको समस्यालाई हटाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस शुरु गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरूले विश्वविद्यालयहरूलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालयहरू विषयगत हुनुपर्ने बताए । उनीहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश पठाउन भन्दै प्रश्न पनि गरेका छन् ।