सहकारीको रकम अपचलन अभियोगमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
काठमाण्डौ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा आज (बुधबार) पक्राउ पर्नुभएको छ ।
हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पराजुलीलाई आज प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन पराजुली आज कार्यालय जानुभएको थियो ।
कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उहाँ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार हुनुहुन्थ्यो । सोही अवधिमा मित्र मिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरूको बयानमा खुलेको र छानबिनमा क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।
मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
मित्रमिलन सहकारीका सात सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरूको दाबी २० करोड हाराहारी छ ।