प्रधानमन्त्री कप : महिला क्रिकेटमा सुदूरपश्चिम र बाग्मती विजयी
काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएको छ ।
आज (बुधबार) भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हराएको हो । मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१ रन बनाइन् । बलिङतर्फ मधेसकी साक्षी यादव र कविता गौतमले समान २ विकेट लिइन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायो । मधेसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले ४ विकेट लिइन् ।
यो जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । मधेस ५ खेलमा २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायो । बाग्मतीले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य र खुशी डङ्गोलले समान २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले ४६ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी शर्मिला रोक्काले २ विकेट लिइन् ।
यो जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।