विदेशी सहयोगहरुले दिएको रुपैँया नेपालले जलवायु न्यूनीकरणका लागि खर्च गर्न सकेन : मन्त्री महतो
काठमाण्डौ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न नसकेको बताउनुभएको छ ।
आज (बुधबार) न्यूज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री महतोले विदेशी दाताले दिएको ४६ करोड रुपियाँ तीन वर्ष भइसक्दासमेत नेपालले खर्च गर्न नसकेको बताउनुभयो । उहाँले जिसिएफ फाउण्डेशनले तीन वर्षअघि जलवायु न्यूनीकरणका लागि ४६ करोड रुपियाँ दिएको भए पनि अहिलेसम्म सरकारले न्यूनीकरणको क्षेत्रमा खर्च गर्न नसकेको र अहिले तलब, गाडी र भत्तामा खर्च गरी ३५ करोडमा झरिसकेको जानकारी दिनुभयो ।
मन्त्री महतोले जलवायु परिवर्तनबाट भएका असर न्यूनीकरणका लागि विदेशीको मात्रै मुख ताक्ने नभइ आफूले पनि पहलकदमी थाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कतिपय स्थानमा भएका कानुनी जटिलता खुलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री महतोले क्लाइमेट चेन्जसम्बन्धी काम गर्ने कर्मचारीहरु मन्त्री फेरिएसँगै फेरिनेभन्दा पनि उनीहरुलाई सोही क्षेत्रमा राखेर विज्ञ बनाई आगामी कोपका लागि तयार गर्नुपर्ने बताउनुभयो ।
मन्त्री महतोले सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्याङ्क नै नरहेको बताउनुभयो । उहाँले तथ्याङ्क सङ्कलनका लागि गर्नुपर्ने खर्च सरकारले गर्न नसकेका कारण तथ्याङ्क विहीन भएर मन्त्रालय बस्नुपरेको बताउनुभयो ।
मन्त्री महतोले आफूसँग भएको श्रोतलाई रोजगारी समृतिसँग जोडेर जानुपर्ने बताउनुभयो । उहाँले विदेशीको सहयोगको मुख ताकेर बस्ने हो भने नेपालको समृद्धि हुन नसक्ने जानकारी दिनुभयो । जलवायु परिवर्तनसम्बन्धी सबैले सधैँ एउटै आवाज उठाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।