किराँत समुदायमा मनाइने उधौली पर्वका दश महत्त्वपूर्ण पक्षहरू
काठमाण्डौ । उधौली पर्व पूर्वी नेपालका साथै संसारभरी छरिएर वसोवास गर्ने किराँत समुदाय विशेषगरि राई, सुनुवार र याख्खाहरुले मनाउने महान् चाड हो ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।
यहाँ साकेला/उधौलीका बारेमा दश महत्त्वपूर्ण पक्षहरू समावेश छन् ।
१) उधौली पर्व किराँत समुदायले हर्षोल्लासका साथ मनाउने गरेका छन् । यो किराँतहरूको धर्म अनुसार ऋतुको उत्सवको प्रतीक हो जुन सामान्यतया मंसिर महिनामा पूर्णिमाको दिनमा पर्छ ।
२) किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।
३) किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई खेतीकिसानीका आधारमा उधौली र उभौलीगरी दुई भागमा बाडिएको छ । खेती किसान गर्नका लागि मनाइने उभौली वैशाख पूर्णिमामा मनाइन्छ भने बाली भित्र्याउने समयमा उधौली चाड मनाउने गरिन्छ ।
४) किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाललगायतका जातिहरू पर्ने भएकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् ।
५) उधौली पर्वलाई साकेला शिली, साकेवा, साखेवा, साकेनवा, न्वागी पूजा, सिमे, भूमे, र भूमिपूजा आदि नामले समेत चिनिन्छ । यो पर्वलाई सुनुवारहरुले फोलस्याँदर, राईले उधौली साकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।
६) भूमि पूजाका लागि कुखुरा, सुगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउला, ढोल, झ्याम्टा, धनुकाँड लगायत सामग्री आवश्यक पर्छ । परम्परा अनुसार किराँती धर्मगुरु(बिजुवा/नक्छुङ/कुबि)ले विधीअनुसार चुलोको पूजा गरि उनकै आदेशबाट साकेला नाच सुरु गरिन्छ ।
७) पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई १५ दिनसम्म नाचेर यो चाड मनाइन्छ । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, पशुपक्षीको नक्कल गरेको अनि कृषि कार्य गरेको प्रदर्शन गरिन्छ ।
८) संस्कृति झल्काउने पोषाक लगाएर बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरामा परम्परागत रूपमा शिली नाँच नाच्ने गर्छन् । साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ ।
९) यो शिलिनाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ । नेपालबाहिर खासगरी सिक्किम, दार्जिलिङ, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत यो साकेला शिली नाच लोकप्रिय छ ।
१० ) संसारभर छरिएर रहेका किराँतीहरू एकआपसमा चिनजान गर्ने, शुभकामना साटासाट गर्ने, मीठो परिकार पकाएर खाने, सामाजिक एवम् पारिवारिक जमघट गर्ने हुँदा उधौलीलाई मेलमिलापको चाड पनि भन्ने गरिन्छ ।
-सुप्रिया राई