सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाण्डौ । सिन्धुलीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।

त्यसैगरी सो मोटरसाइकलका चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरुको मृत्युपछि स्थानीयले सो बसमा आगजनी गरेका छन् । बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ ।

आज बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

बसलाई नियन्त्रणमा लिई त्यसका चालक मन्थली नगरपालिका–१३ रामेछापका २४ वर्षीय रुपेश अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।