सर्वोच्चका मुख्य रजिष्टार कुँवर र रजिष्टार पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त

काठमाण्डौ । सर्वोच्च अदालतका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको छ ।

न्याय परिषदको आज (आइतबार) बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गर्नुभएको थियो। यसअघिका मुख्य रजिष्टार मुख्य न्यायाधीश बन्ने गर्नुभएको थियो ।

तर पछिल्लो नियमावली संशोधनपछि शीर्ष वरियतामा रहनेगरी कुँवर न्यायाधीश बन्नुभएको हो । उहाँको रोलक्रम अनुसार राजन भट्टराईपछि मुख्य न्यायाधीशको पालो आउनेछ । न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत हुनुभएको छ । त्यस्तै परिषद बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई नेपालगन्ज इज्लासमा सरुवा गरेको छ ।