देशमा युवा पलायन मुख्य चुनौती रहेको अध्यक्ष ओलीको भनाइ

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताउनुभएको छ ।

पार्टीले मंसिर १८ देखि पुस १ गतेसम्म गरेको झुलाघाट–चिवाभञ्याङ संकल्प यात्राबारे जानकारी दिन आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मध्यपहाडमा आर्थिक विकासको सम्भावना रहेपनि युवा पलायन मुख्य चुनौती रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ’मध्यपहाडमा सम्भावना धेरै छ, तर सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने, युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।’

युवाहरुको संख्या अलि कमै देखिएको उहाँले बताउनुभयो । मानिसहरुमा आशावादिता रहेको अध्यक्ष ओलीले बताउनुभयो । यात्राका क्रममा आफूहरूले जनतामा आशा जगाउने काम गरेको उहाँले बताउनुभयो ।

यात्राका क्रममा आफ्ना धारणाहरु राख्दा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको कुरा गर्दा जनता आकर्षित भएको अध्यक्ष ओलीले बताउनुभयो । एमालेका नेता–कार्यकर्ता मात्र नभएर अरु पार्टीका नेता–कार्यकर्ता, संघ–संस्था र बौद्धिक जगत संकल्प यात्रासँग आकर्षित र विश्वस्त रहेको समेत उहाँले बताउनुभयो ।

सर्वदलीय बैठक राखेर सर्वसम्मत र सर्वदलीय बैठक बसेर सुझाव दिने काम पनि भएको अध्यक्ष ओलीले बताउनुभयो । विकासका लागि सुझाव र पीरमर्का राख्नुभएको बताउनुभयो ।

कतिपय ठाउँमा सरकारी दमन देखिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ’सरकारी दमन पनि चर्काेगरीनै रहेछ, सरकारी पक्षपात भेदभाव र दमन, विपक्षी पार्टी भनेपछि काम गरेर पनि बाँच्न नसक्ने खालको स्थिति रहेछ कतिपय ठाउँमा, राज्यसत्ताको दुरुपयोग गरेको देखियो, हुन त काठमाडौंमै प्रोफेसरको ढाड भाचिन्छ, सरकारले मुद्दा फिर्ता लिन्छ, अरु अपराधी तत्वका मुद्दा फिर्ता लिन्छ, काठमाडौंमा प्रबुद्ध समाजको अगाडि त यस्तो हुन्छ भने झन् दूरराजको स्थिति कस्तो होला ?’

अध्यक्ष ओलीले मागपत्रहरुबारे अध्ययन भइरहेको र त्यसपछि तत् सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाइने बताउनुभयो ।