हमास र इस्लामिक जिहादका सयौँ सदस्य पक्राउ परेका इजरायलको दाबी

एजेन्सी । इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ ।

बीबीसीका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।

हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाइएको थियो । यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान शुरु गरेको हो ।

हमासको मातहतमा काम गर्ने गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २० हजार मानिस मारिएको र झण्डै ५० हजार घाइते भएको जनाएको छ ।