नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाण्डौ प्लेअफमा

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

आज (शनिबार) त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको लिग चरणको अन्तिम खेलबाट काठमाण्डौ रेजर्स एफसी प्लेअफमा पुगेको हो ।

प्लेअफ पुग्ने अन्तिम टोली बनेको काठमाण्डौले ललितपुर सिटी एफसीलाई १–० गोलले हरायो । काठमाण्डौका लागि पहिलो हाफको इन्ज्युरी समयमा आन्द्रेस नियाले गरेको गोल निर्णायक भयो । निकै प्रतिस्पर्धात्मक खेलको ७५ औँ मिनेटमा काठमाण्डौका अमित तामाङले रेड कार्ड पाउँदै बाहिरिए भने ललितपुरले त्यसको फाइदा उठाउन सकेन । काठमाण्डौको जितले ८ खेलमा १० अङ्क भएर पनि गोल अन्तरका आधारमा झापा एफसी बाहिरिएको छ ।

यो जितसँगै काठमाण्डौ ८ खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि नै प्लेअफ पुगिसकेको ललितपुर यो हारले ८ खेलमा १० अङ्कसहित चौथो स्थानमा झरेको छ ।

ललितपुरको हारले धनगढी एफसीलाई फाइदा भएको छ । धनगढीले ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको छ । पोखरा ८ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ ।

एनएसएलको क्वालिफायरमा सोमबार पोखरा र धनगढीबीच खेल हुनेछ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ । यो खेल हार्ने टोलीले फाइनल प्रवेशका लागि आउँदो बिहीवार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मङ्गलबार ललितपुर र काठमाण्डौबीच खेल हुनेछ ।