मुलुकको विकास र समृद्धिका लागि एमाले रोज्न महासचिव शंकर पोखरेलको आह्वान

काठमाण्डौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ ।

आज (शनिबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको बताउँदै देश जोगाउने भए एमाले नै चाहिने दाबी गर्नुभयो । एमालेले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन नसक्ने उहाँको भनाइ छ ।

नेकपा एमालेले सुरु गरेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि नबढेसम्म मुलुक नबन्ने उहाँले बताउनुभयो । मुलुकु बनाउने भए आर्थिक–सामाजिक विकास र रुपान्तरणको कामलाई तिब्रता दिनै पर्ने उहाँको भनाइ छ ।