काठमाण्डौ महानगरका विद्यालयले अब ’डीआई’ राख्न नपाउने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले निकालेको विज्ञप्तिका अनुसार अबदेखि विद्यालयले डीआई राख्न नपाउने भएका हुन् ।

विद्यालयमा राखिएका डीआईले भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो आएसँगै यस्तो निर्णय गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताउनुभयो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न र नगराउन सूचित गरेको छ ।