हमास प्रमुख इजिप्टमा, युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता हुने
एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधवार इजिप्ट पुग्नुभएको छ ।
कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो पुग्नुभएको हकास समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको समूह निकट स्रोतले एएफपीसँग बताएको एएफपीले बताएको छ ।
यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’ को नेतृत्व गर्दै इजिप्टको भ्रमण गर्नुभएको हो । गएको अक्टोबर ७ मा हमासले गाजाबाट एक्कासी जल, स्थल र हवाई मार्गबाट इजरायली क्षेत्रमा शुरू गरेको आक्रमणमा झन्डै एक हजार एक सय जनाको ज्यान गएको थियो जसमा धेरैजसो सर्वसाधारण थिए र झन्डै दुई सय ५० जनालाई बन्धक बनाइएको इजरायलले जनाएको छ ।
प्रतिक्रियामा हमासलाई ध्वस्त पार्ने वाचा गर्दै बमबारी र त्यसपछि जमिनी आक्रमणको अभियान शुरु गरेको र यसबाट १९ हजार ६ सय ६७ जनाको ज्यान गएको गाजाको हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका छन् ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि मङ्गलवार आफ्नो देश ‘बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको’ बताउनुभएको छ ।
यसैबीच प्यालेस्टिनी लडाकु समूह इस्लामिक जिहादले गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको भिडियो फुटेज सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बुधवार द्वन्द्व अन्त्यका लागि आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको कुटनीतिक स्रोतले बताएका छन् । स्रोतका अनुसार पाठको पछिल्लो संस्करणमा शत्रुतालाई ‘अन्त्य’ गर्न आह्वान गरिएको छ ।
अमेरिकाले यसअघिको युद्धविराम प्रस्तावमा भिटो लगाएको थियो जसको प्यालेस्टिनी र अन्तर्राष्ट्रिय मानवीय समूहहरूले विरोध गरेका थिए । उनीहरूले द्वन्द्वमा फसेका नागरिकलाई मद्दत गर्न थप कदम चाल्न आग्रह गरेका थिए । इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा सेनाले आफ्नो अभियान विस्तार गरिरहेको बताएपछि अहिले युद्ध जारी छ ।
गाजा पट्टीमा भएको पछिल्लो इजरायली आक्रमणमा परि कम्तीमा ११ जनाको ज्यान गएको हमासको स्रोतले बुधवार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ ।
गाजावासीले खतरनाक जाडोको सामना गरिरहेका छन् र संयुक्त राष्ट्रसङ्घीय बाल निकायले रोगका कारण हुने बालबालिकाको मृत्यु बमबारीमा मारिएकाहरूको सङ्ख्याभन्दा बढी हुन सक्ने चेतावनी दिएको छ । अमेरिकाले इजरायललाई कडा समर्थन गर्दै गाजामा नागरिकको सुरक्षा गर्न पनि आग्रह गरेको छ ।