राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । बुधवार संसदीय समितिले नाम अनुमोदन गरेर पठाएका ६ जनालाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीश सारङ्गा सुवेदी, उच्च अदालत हेटौँडाका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशहरू महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
छ जना न्यायाधीशको नाम आजै संसदीय सुनवाइ समितिले अनुमोदन गरेको थियो । प्रस्तावित न्यायाधीशहरूमाथि गएको शुक्रवारदेखि सुनुवाइ शुरु भएर अस्ति सोमवार सकिएको थियो ।
प्रस्तावित न्यायाधीहरूविरुद्ध उजुरी परे पनि उजुरीको खण्डन गरेपछि समितिले नाम पारित गरेको हो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।