शेयर बजार परिसूचक नेप्से ४६ अङ्कले बढ्यो, नेप्से ५ महिनायताकै उच्च विन्दुमा
काठमाण्डौ । लगातार छैटौँ दिन मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।
नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । मङ्गलवार सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
बजार बढे पनि कारोबार रकम भने सोमवारभन्दा घटेको छ । १ करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।