संविधानको मूल्य मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रस्तावित न्यायाधीश पोखरेलको प्रतिबद्धता

काठमाण्डौ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो ।

उहाँले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाउने बताउनुभयो । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानुन र न्यायका मान्यताहरूका आधारमा निर्णय लिने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताउनुभयो ।

प्रस्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अङ्गीकार गरेको मूल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल साबित हुने इमान्दार प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।