उपत्यकाको विकासका लागि काठमाण्डौ र ललितपुर महानगरको परस्पर सम्बन्ध हुनुपर्छ : बालेन शाह

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले काठमाण्डौ उपत्यकाको विकासका लागि पालिकाको परस्पर सम्बन्ध हुनुपर्ने बताउनु भएको हो ।

उहाँले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताउनु भयो । उहाँले उपत्यकाको विकास एकैपटक गर्नका लागि सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताउनु भयो ।

उहाँले सङ्घीय सरकारका कारण फोहर व्यवस्थापनमा समस्या भइरहेकाले फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभयो ।

 

उहाँले काठमाण्डौका खोला अतिक्रमणको विषयमा सरकारलाई आवश्यक पहल गर्न आग्रह गर्नुभयो । शाहले काठमाण्डौ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताउनु भयो ।