त्रिविबाट १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम गर्ने दाबी
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औं दीक्षान्त समारोह मनाएको छ । त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई आज (सोमबार) दीक्षित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनु भएको छ ।
दीक्षित हुने विद्यार्थी गाउनमा सजिएर अभिभावकसँगै समारोहस्थलमा आएका थिए । गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ ।
यस पटक भने त्रिविले विश्व रेकर्ड कायम गर्ने दाबीसमेत गरेको छ । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दावी प्रस्तुत गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएको जोशीले बताउनु भएको छ ।
गिनिज बुकका प्रतिनिधिले समारोहस्थलमै उपस्थित भएर मूल्याङ्कन गरेको उहाँको भनाई छ ।
स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाउनु भएको छ ।
त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उहाँले बताउनु भएको छ । विश्वविद्यालयले छिट्टै साइबर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, ‘माउन्टेन टुरिज्म’ र ‘माउन्टेन साइन्स’ जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने उहाँले घोषणा गर्नु भएको छ ।