बिदेसिने श्रमिकको सङ्ख्या बढे पनि रेमिट्यान्स बढ्न सकेन : जिफन्ट

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ  (जिफन्ट) ले सरकारसँग निराश हुँदा  बैदेशिक रोजागारीमा जानेको संख्या ह्वात्तै बढेको भन्दै चिन्ता जनाएको छ ।  आज आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को अवसरमा फ्याक्टसिट सार्वजनिक गर्दै जिफन्टले पत्रकार सम्मेलन मार्फत नेपालको वैदेशिक रोजागारीको पछिल्लो अवस्था बारे चिन्ता व्यक्त गरेको हो ‍ ।

जिफन्ट उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख रमेश बडालले  गरिबी, रोजगारीको अभाव राजनीतिक अस्थिरता, श्रम आकर्षण लगायतका कारणले युवाहरू वैदेशिक रोजगारीमा गइरहेको उहाँले बताउनुभयो ।

नेपालको वैदेशिक श्रम सम्बन्धबारे जिफन्टद्वारा आज सार्वजनिक फ्याक्टसिटमा आर्थिक वर्ष २०७९/८० सम्म ७ लाख भन्दा बढी नेपाली रोजगारीका लागि बिदेसिएको उल्लेख छ ।

जिफन्टका अनुसार व्यक्तिगत रूपमा बिदेसिनेको सङ्ख्या अस्वभाविक वृद्धि हुँदा सबैभन्दा धेरै तराई क्षेत्रका नेपालीहरू प्रवासमा पुगेको उल्लेख छ । गत आर्थिक वर्षमा जस्तै यो वर्ष पनि सबैभन्दा धेरै नेपाली धनुषा जिल्लाबाट वैदेशिक रोजगारमा गएका छन् । दोस्रोमा झापा, तेस्रोमा सिराहा, चौथोमा मोरङ, पाँचौँमा महोत्तरी, छैठौमा रुपन्देही, सातौँमा सुनसरी, आठौँमा सर्लाही, नवौँमा सप्तरी र दशौँमा दाङ जिल्लाबाट धेरै नेपाली वैदेशिक रोजगारमा गएको देखिएको छ ।

त्यस्तै, दक्ष भई वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा पनि वृद्धि भएको छ । केही वर्ष यता रोजगार गन्तव्यमा फेरबदल हुनुका साथै युरोपका मुलुकहरू श्रमिकको आकर्षणको केन्द्रबिन्दु बनेको जिफन्टले उल्लेख गरेको छ ।

उपाध्यक्ष बडालले रोजगारीमा गएकाबाट आउनुपर्ने ३८ खर्ब रेमिटेन्स हराएको बताउनुभएको छ । उहाँले आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा २७७.९८ प्रतिशत र २०७९/८० मा तीन सय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ४२.२४ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको तथ्याङ्क सार्वजनिक गर्नुभयो ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा एक लाख ६६ हजार ६९८ जना बिदेसिँदा ल्याएको नौ खर्ब ६१ अर्ब ५ करोड रेमिटेन्सको अनुपातमा आर्थिक वर्ष २०७९/८० मा वृद्धि भएको बिदेसिनेको सङ्ख्या अहिले सात लाख ७१ हजार ३२७ जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा ४४ खर्ब ४८ अर्ब रेमिटेन्स वार्षिक रूपमा भित्रिनुपर्ने उहाँको दाबी छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक बिदेसिनेको सङ्ख्या १५ प्रतिशतले बढी हुँदा कम्तीमा सात खर्ब रेमिटेन्स थप भई कुल ५० खर्ब भन्दा बढी हुने रेमिटेन्स भित्रिनुपर्ने जिफन्टका उपाध्यक्ष बडालले बताउनुभयो । उहाँले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिटेन्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिटेन्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले बिदेसिने श्रमिकको सङ्ख्या बढे पनि रेमिटेन्स बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारमा गएर श्रमिकहरूले कमाएको नेपालमा आउनुपर्ने रकम किन आएन र हराइरहेको पैसा अब नेपाल भित्र्याउन अहिलेको सरकारले के गरिरहेको छ भन्दै अध्यक्ष बडालले गम्भीर प्रश्न समेत गर्नुभयो ।