माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै
काठमाण्डौ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।
आयोगले संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने जनाएको छ ।
मङ्सिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । आयोगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको थियो ।
दल दर्ताका लागि आह्वान गरिएको दोस्रो दिन नै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दर्ताको निवेदन दिएका थिए ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।