सेवा लम्साल बन्नुभयो पहिलो महिला परराष्ट्र सचिव
काठमाण्डौ । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज (बिहीबार) को बैठकले लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै स्थापनाको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयले पहिलो महिला परराष्ट्र सचिव पाएको छ । लम्साल नेपालको २५ औँ परराष्ट्र सचिव बन्नुभएको छ । यसअघि भरतराज पौड्याल परराष्ट्र सचिव हुनुहुन्थ्यो । ५८ वर्षे उमेरहदका कारण पौड्यालले यही मङ्सिर १९ गतेदेखि अवकाश पाएपछि लम्साल नयाँ परराष्ट्र सचिव हुनुभएको हो ।
सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।