संविधानप्रद्धत अधिकार जनताले महशुस गर्न पाउनुपर्छ : उपसभामुख इन्दिरा राना

काठमाण्डौ । उपसभामुख इन्दिरा रानाले संविधानप्रद्धत अधिकार जनताले महशुस गर्न पाउनुपर्नेे बताउनुभएको छ । आज (बिहीबार) सङ्घीय संसद सचिवालयद्वारा १७ औँ सङ्घीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरु जनताले महशुस गर्न पाउनुपर्ने बताउनुभएको हो ।

उपसभामुख रानाले कसैले पनि संविधानको विरोधमा बोल्ने आँट गर्न नसक्नेगरी अधिकारहरु जनताले पाउनुपर्ने बताउनुभयो । उहाँले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरु हरेक क्षेत्रमा लागू हुनुपर्ने बताउनु भयो । जातिय र वर्गिय आधारमा पनि समावेशिता कायम गर्नुपर्ने उहाँको माग छ ।

उपसभामुख रानाले सङ्घीय संसदका कर्मचारीहरुलाई हरेक महिना नयाँ–नयाँ अवसरहरु दिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने र विभिन्न देशमा अनुभव आदान–प्रदानका कार्यक्रमहरुमा समावेश गराएर वृत्ति विकास गराउनुपर्नेमा जोड दिनुभयोे ।