१४ किलो सुन प्रकरणमा हालसम्म विमानस्थलका दुईजना कर्मचारीसहित पाँचजना पक्राउ
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद भएको १४ किलो सुन प्रकरणमा अहिलेसम्म पाँच जना पक्राउ परेका छन् । मङ्सिर २१ गते राति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा आज बिहीवार प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । यस प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।
सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी दुई जना गरी अहिलेसम्म पाँचजना पक्राउ परेका प्रमुख भन्सार प्रशासक डा. पाण्डेले बताउनुभयो ।