हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर प्रयास जारी छ : प्रधानमन्त्री दाहाल
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।
सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताउनुभयो । यस पटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।