वर्तमान सरकार ०८४ सम्म टिक्न नसक्ने अध्यक्ष ओलीको दाबी

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वको सरकार जबरजस्ती रूपमा हटाइएकोले मुलुकको विकास ओरालो गतिमा लागेको बताउनुभएको छ ।

पार्टीको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले साढे तीन वर्षको अवस्थामा एमालेले असाधारण विकास गरेको बताउनुभयो । उहाँले एमालेले मात्र देशको विकास गर्ने दाबी गर्दे ओलीले विकासका लागि चिन्ता नगर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीका लागि मिसन ०८४ भनिएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले त्यसकोे प्रतिनिधित्व एमालेले गरे पनि त्यो नेपाली र जनताको मिसन भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसका नेताहरूले समेत ०८४ सम्म जान नसकिने बताउँदै आएकाले अहिलेको सरकार सो अवधिसम्म नटिक्ने बताउनुभयो । अध्यक्ष ओलीले यो सरकार आफ्नै अयोग्यताले नटिक्ने उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले देशभक्त, बिकासप्रेमी, सुशासन, भेदभाव र पक्षपात नगर्ने सरकार मुलुकमा आवश्यक रहेको बताउनुभयो ।

गत मङ्सिर १४ गतेबाट सुरु सङ्कल्प यात्राका क्रममा बुधवार भोजपुर आई पुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी हुँदै आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ ।