गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा नेपालको मतदान, बन्दीलाई विनासर्त रिहा गर्न माग

नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।

गए राति भएको मतदानमा राष्ट्रसङ्घका एक सय ९३ वटा सदस्य राष्ट्रमध्ये अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । बेलायतसहित २३ देशले मतदानमा भाग लिएनन् । महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ ।

इजरायलमा अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ । नेपालले जोशीलाई छुटाउन कुटनीतिक पहल भइरहेको बताउँदै आएको छ । पहलकै क्रममा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले अस्ति सोमवार मात्रै कतारका प्रधानमन्त्री र त्यसअघि परराष्ट्रमन्त्रीसँग भेट गर्नुभएको थियो । जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताउनुभएको छ ।

यसअघि एक हप्ता लामो अस्थायी युद्धविरामका बेला हमासले बन्धक बनाएका झन्डै दुई सय ४० मध्ये विभिन्न देशका एक सय जनाभन्दा धेरैलाई रिहा गरेको थियो । विदेशीमध्ये थाइल्यान्डका सबैभन्दा धेरै २३ जना मुक्त भएका थिए । हमास लडाकु समूहबाट भएको आक्रमणमा १० जना नेपालीले पनि ज्यान गुमाएका थिए । गाजामा इजरायलले गरेको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म १८ हजार चार सय जनाभन्दा धेरैले ज्यान गुमाएको विवरण छ ।

यसअघिको अस्थायी युद्धविरामका क्रममा जोशीलाई रिहा गराउने प्रयास असफल भए पनि नेपालले कतार र इजिप्टमार्फत पहल गर्दै आएको छ । कतारले इजरायल र हमासबीच फेरि युद्धविराम गराउने पहल गरिरहेको छ । एजेन्सी