एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित
काठमाण्डौ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । मङ्गलवार भएको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको हो ।
नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायो ।
दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयो । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए ।
यस्तै अर्जुन कुमाल र दिपक बोहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बोहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए ।
यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।
बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए ।
लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।