ओखलढुंगाको हर्कपुरमा एमालेको आमसभा तयारी पूरा 

काठमाण्डौ । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत हर्कपुरमा आमसभाको तयारी पूरा भएको छ । पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भएका छन् । एमालेले सभाको लागि गाउँगाउँबाट करिब १५ हजार मानिस उतार्ने एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवाडाले कार्यक्रमको तयारी पूरा भएको बताए ।

 

पहिचानवादीको आन्दोलनको सन्दर्भमा उनले अराजक गतिविधि नगर्न र एमालेको कार्यक्रम अवरोध नगर्न आग्रह गरे । सभाका लागि युवा तथा जनसङ्गठनको स्वयंसेवक टोली परिचालन गरिएको छ । एमालेको अभियानलाई अवरोध गर्ने गरी पहिचानवादीले आन्दोलन घोषणा गरेकाले त्यसलाई निस्तेज पार्न कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने तीन जना पहिचानवादी पक्राउ परेका छन् । एमालेको मध्यपहाडी यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका हुन् ।

मंसिर १४ मा झुलाघाटबाट सुरु भएको अभियान १३औं दिनमा कोशी प्रदेश प्रवेश गरेको छ । पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अभियान सम्पन्न हुनेछ ।